ससफो, काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को वडा अधिवेशन सम्पन्न ।
सत्तामा पुगेपछि राजा महाराजाको जस्तो व्यवहार गर्नेहरू कम्युनिष्ट होइनन् ।
– सहअध्यक्ष श्रेष्ठ
काठमाडौँ, २०७५ मङ्सिर ८ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टीका नेता भन्नेहरू वास्तविक कम्युनिष्ट नभएको जिकिर गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को स्वयम्भूमा भएको वडा अधिवेशनमा प्रमुख अतिथिको रूपमा उद्घाटन मन्तब्य दिंदै उनले महानगरभित्रका वडाहरूमा पहिलो अधिवेशन गर्न सफल भएकोमा १५ वडाका नेता कार्यकर्ताहरूलाई धन्यवाद दिए ।
पार्टीको कामपा वडा नम्बर १५ का अध्यक्ष सुमन महर्जनको अध्यक्षतामा भएको उक्त अधिवेशनमा शुभकामना दिंदै सहअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालमा सङ्घीय व्यवस्था आए पनि प्रदेशहरूलाई अधिकार नदिएको मात्र होइन, केन्द्रमा भएको अधिकार पनि प्रधानमन्त्रीमा केन्द्रित गर्न थालेकोमा नेकपाको आलोचना गरे । उनले भने, ‘यो सङ्घीयताको नाममा केन्द्रीकृत शासनको अभ्यास हो ।’
प्रतिनिधिसभाका सदस्य समेत रहेका श्रेष्ठले भने ‘हिजो गरिबी र अभाबमा जीवन बिताएका कम्युनिष्ट पार्टीका नेताहरू अहिले सत्तामा पुगेपछि राजा महाराजाको जस्तो व्यवहार गरिरहेका छन्, सात पुस्ताका लागि सम्पति जोड्ने काममा लागिरहेका छन् । प्रधानमन्त्रीलाई हिजोको राजामहाराजा जसरी सुत्थे, त्यस्तै महंगो पलङ चाहिएको छ, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिएको छ ।’ नेपालमा नयाँनयाँ राजघरानाको जन्म भएकोमा आक्रोश पोख्दै उनले भने ‘नेपालका कम्युनिष्टहरू नामका कम्युनिष्ट भए पनि कामका कम्युनिष्ट होइनन् ।’
नेता श्रेष्ठले विगतमा आफूहरूले राजतन्त्रको विरोध गर्दा जनता गरिब छन्, राजपरिवारका सन्तानलाई पनि तलव सुविधा र भत्ता किन ? भन्दै विरोध गर्ने गरेको स्मरण गरे । अमेरिका, स्विट्जरल्यान्ड लगायत सङ्घीय गणतन्त्रात्मक व्यवस्था भएको मुलुकका राष्ट्रपति, प्रधानमन्त्रीहरू आफ्नो कार्यकाल सकिएपछि पुरानो काममा फर्केको उदाहरण दिंदै उनले ‘हिजो बिनाकाम राजपरिवारका सदस्यहरूलाई तलब भत्ता दिइन्थ्यो आज भूतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका पदाधिकारीहरूलाई बिनाकाम सुविधा दिने निर्णय गरेको छ । यसबाट नेपालका कम्युनिष्ट नेताहरू कम्युनिष्ट नभएर ढोंगी र पाखण्डी भएको पुष्टि गरेको’ उनले बताए ।
पार्टीको कामपा वडा नम्बर १५ का सचिव दीपक ताम्राकारले सञ्चालन गरेको उक्त अधिवेशनमा विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ महानगर इन्चार्ज पवित्र बज्रचार्यले पार्टी सङ्गठनलाई सुदृढ गर्नुपर्ने तथा टोल टोलमा विस्तार गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा जिल्ला सदस्यहरू बि. जि. रत्न, अर्जुन श्रेष्ठ, राजाराम तण्डुकार, सुरज महर्जन, ओम रत्न ताम्राकार, जिल्ला सदस्य तथा महानगर अध्यक्ष श्री मंगल रत्न ताम्राकार तथा समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासङ्घका महिला नेतृ सोनाम लामा शाक्यले पनि शुभकामना मन्तव्य दिएका थिए । अन्तमा प्रमुख अतिथि श्रेष्ठले नव निर्वाचित वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।
वडा अधिवेशनले २९ सदस्यीय वडा समिति तथा निम्नानुसारका पदाधिकारी तथा सदस्यहरू रहेको कार्यसम्पादन समिति चयन गरेका छन् :
१. अध्यक्ष – सुमन महर्जन
२. उपाध्यक्ष – किरण महर्जन
३. सचिव – दिपक ताम्राकार
४. सहसचिव – सुवास बानियाँ
५. कोषाध्यक्ष – लक्ष्मण महर्जन
६. सहकोषाध्यक्ष – शर्मिला बानियाँ
७. सदस्य – सुरज महर्जन
८. सदस्य – सुर्यलाल घतानी
९. सदस्य – राजेन्द्र महर्जन
१०. सदस्य – नारायण क्षेत्री
११. सदस्य – रमेश नापित
430total visits,4visits today
Recent Comments