केपी ओलीकै जिल्लामा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरे ।


काँकडभित्ता, झापा ९ असार । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री एवम् सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा झापा, मेचीनगरको काँकडभित्ता भन्सार एरिया हनुमान स्थानमा वृहत चुनावी जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगरका वडा नं ६ का वडाध्यक्षका प्रत्यासी दिनेश राईको अध्यक्षतामा अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले २०४६ सालपछि पालैपालो सत्ता सम्हालेर विकास गर्न नसक्नेहरूले फेरि पनि विकास र समृद्धिको नारा दिन नसुहाउने भन्दै एमाले नेता केपि ओलीले आफू प्रधानमन्त्री हुँदा नेपाल र भारत जोड्ने नजिकैको जीर्ण पुल एउटा सम्म बनाउन नसकेको उदाहरण दिँदै घर घरमा ग्यास, समुद्रमा पानी जहाज, प्रशारण लाइन नभएको हिमाली भेगमा हावाबाट विजुली जस्ता अस्वाभाविक कुरा गरेर राजनीतिलाई व्यङ्गविधा बनाएको बताए ।

श्रेष्ठले पहिचान सहितको सङ्घीयता र समतामुलक समृद्धिका लागि आफ्नो पार्टी स्थापित भएको भन्दै पहिचानले उत्पीडित जातिहरूको आत्म सम्मान बढाउने तथा समतामुलक समृद्धिले जनताको जीवन स्तर उठाउने बताए । उनले गाउँ घरमा आफ्नो अभिभावकको मृत्यूमा दागवत्ति दिने र मलामी जाने समेत नहुने गरी रोजगारीका लागि राजधानी र विदेशमा जानु पर्ने कहालीलाग्दो स्थिति सृजना हुनुमा लामो समय सत्ता चलाएका काङ्ग्रेस र एमाले मुख्य रूपमा जिम्मेवार रहेको बताए ।

अहिले सङ्घीय शासनको कार्यान्वयनसँगै गाउँ गाउँमा बजेट जानु सङ्घीयताको देन भएको बताउँदै उनले गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी कुन हो भनेर थाहा पाउनु पर्ने भन्दै त्यसको श्रेय ससफो नेपाललाई नै जाने कुरा समेत बताए ।

सङ्घीयताका विज्ञ समेत रहेका श्रेष्ठले एमालेको जनवाद र काङ्ग्रेसको समाजवादले मौलिक रूपमा सङ्घीयतालाई आत्मसात नगरेको भन्दै नेपाल जस्तो वहुराष्ट्रिय देशको समाजवादको मोडेल सङ्घीयतामा आधारित हुनु पर्ने कुरामा जोड दिए । उनले आफ्नो पार्टीको मार्ग दर्शक सिद्धान्त सङ्घीय समाजवादले पहिचान र समृद्धिको मुद्दालाई सन्तुलित ढङ्गले उठाएको बताउँदै सङ्घीयतामा पहिचान र स्थानीय तहमा स्वशासनले आफ्नो ठाउँको विकास आफैले गर्न पाउने भएकाले देशको विकास द्रुत गतिमा हुने बताए ।

सभामा उनले आफ्नो पार्टीेलाई जातिवादीको आरोप लगाउनेहरूको कटाक्ष गर्दै भने – “एकाइसौँ शताव्दीमा पनि आकाशको चील देखाएर कुखुराको चल्ला समाउने छट्टु स्यालहरू रहेछन् । उनीहरूले पहिला ऐनामा आफ्नो अनुहार ऐनामा हेर्नु पर्दछ ।” उनले हिमाल, पहाड र तराईका सबै समुदायहरूलाई समेट्ने समानुपातिक समावेशी चरित्रको एक मात्र राष्ट्रिय चरित्रको पार्टी ससफो नेपाल भएकाले एमाले काङ्ग्रेसरूपी जातिवादी छट्टु स्यालहरूलाई जनताले तिरस्कार गर्ने कुरा बताए ।

राजपाले आफ्नो पार्टीमाथि लगाएको आरोपको खण्डन गर्दै उनले आज सम्म भएका क्रान्ति, विद्रोह तथा आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न तथा स्थानीय निर्वाचनपछि पनि संविधान संशोधन नभए आन्दोलनका लागि शक्ति सञ्चय गर्न निर्वाचनलाई उपयोग गरेको बताउनुका साथै राजपाले चोर बाटोबाट निर्वाचनमा भाग लिएको बताए ।
शिल्पी नेता जगत घिमिरेले स्वागत तथा ओम प्रकाश खापुङले उद्घोषण गरेको उक्त चुनावी जनसभामा मेचीनगरका मेयरका प्रत्यासी इन्द्र श्रेष्ठ, उपमेयरका प्रत्यासी अग्नीमाया मेचे लगायतले आफ्नो प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमका वक्ता लिम्बुवान प्रदेशका उपााध्यक्ष देवेन्द्र राई तथा सचिव केदार धिमालले ससफो नेपाल दोस्रो चरणको निर्वाचनमा शक्तिशाली पार्टी बन्ने दावी गरे ।

एमाले नेता केपी ओलीको गृह जिल्ला झापाका एमाले कार्यकर्ताहरू अग्नी मेचे, पवन मेचे, तारा दनुवार लगायत करिव पाँच दर्जन प्रतिस्थित व्यक्तिहरू ससफो नेपालमा प्रवेश गरेको उक्त जनसभामा पार्टीका राजनीतिक समिति सदस्य पृथ्वी नारायण कार्की, केन्दीय सदस्य द्वय धन प्रसाद गुरुङ, कृष्ण उदाश आदिको पनि सहभागिता रहेको थियो ।

Comments

comments

Leave a Reply