२१ श्रावण, शनिवार । आज एक समारोहका बिच ससफो नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सङ्घीय समाजवादी फोरम नेपालको सिन्धुपाल्चोक जिल्ला समिति पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रमा आफ्नो मन्तव्य राख्नुहुँदै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जारी संविधान अधुरो र अपूरो रहेको बताउँदै आफ्नो पार्टीले स्थानीय निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गरेको बताए ।

उनले ३ नम्वर प्रदेश लगायत पहिलो चरणमा भएको निर्वाचनमा एमाले काङ्ग्रेसले महिनौँ तयारी गरेको तर आन्दोलन गरिरहेको आफ्नो पार्टीले अन्तिम अवस्थामा यू टर्न गरी मनोनयन दर्ताभन्दा दुई दिन अगाडी मात्र निर्वाचनमा जाने निर्णय गरेको हुँदा निर्वाचन तयारीको समय नपाएको मात्र होइन, पार्टीभित्र र सङ्घीय गठबन्धनमा समेत अन्तर द्वन्द्व सृजना भई निर्वाचनमा नकारात्मक प्रभाव पारेको बताउँदै त्यसको बाबजुद पार्टीले प्रचार र सङ्गठनको क्षेत्रमा उपलब्धी हासिल गर्नुका साथै आन्दोलनका लागि शक्ति सञ्चय गर्न सफल भएको बताए । पाँच नम्वर लगायत दोस्रो चरणमा भएको निर्वाचनमा पार्टीले दुई महिनाकै तयारीमा सन्तोषजनक परिणाम ल्याएको भन्दै अव दुई नम्बर प्रदेशमा हुने निर्वाचनमा पार्टी पहिलो शक्ति बन्ने बताए ।

सङ्घीय समाजवादी फोरम, नेपाल पहिचान सहितको सङ्घीयता र समतामुलक सृमृद्धिका लागि स्थापित भएकाले यसप्रतिको आकर्षण दिनानुदिन बढ्दै गइरहेको बताउँदै उनले पुराना दल र ती दलका नेताहरूको कृयाकलाप नश्लवादी र विभाजनकारी भएकाले देश राजनीतिक सङ्कटमा फसेको बताए । उनले देशका आदिवासी जनजाति, मधेसी, खस, शिल्पी सबै समुदायलाई आन्तरिक उपनिवेशका जनता सरह व्यवहार गरेका पृथ्वी नारायण शाहको अधुरो सपना साकार पार्छु भन्दै तराइ/मधेसमा मेची महाकाली अभियानका नाममा नरसंहार गराउने, गोरखा राज्य विस्तारको नाममा यहाँका आदिवासीहरूलाई झुन्याएर मारेको चन्दागिरी डाँडामा गई पृथ्वी नारायण शाहको सालिक राख्नु पर्छ भन्ने के.पि.ओली साम्यवादी नभई नश्लवादी भएको बताउँदै ओलीले देशमा विखण्डनको बिउ रोपेको आरोप लगाए । उनले राष्ट्रवाद व्यापारको विषय नभएको भन्दै ओलीलाई राष्ट्रवादी ठान्नु केटाकेटीले पित्तललाई सुन ठाने जस्तै भएको बताए ।

श्रेष्ठको शब्दमा ‘अहिले स्थापित सङ्घीयता आन्दोलनको उपज भए पनि पूर्ण छैन ।‘ उनले भने ‘हामीले गरेको आन्दोलन पहिचान सहितको सङ्घीयताका लागि हो तर अहिले विकेन्द्रीकरण मात्र गरेर गधालाई धोएर गाई बनाए जस्तो भूगोलको आधारमा प्रशासनिक सङ्घीयता जनतामाथि थापरेर गोरखा राज्य विस्तारदेखि सृजित एकल जातीय राज्यसत्तालाई प्रदेशहरूमा समेत विस्तार गरे ।‘ उनले यस्तो प्रशासनिक सङ्घीयताले उत्पीडित समुदायलाई मूल धारमा ल्याउन नसक्ने भएकाले यो देशका लागि बोझ मात्र भएको बताउँदै सङ्घीयतामा केन्द्रमा साझा शासन र प्रदेशहरूमा स्वशासन हुनुपर्नेमा त्यस्तो नभई अहिले बनाएका प्रदेशहरू आन्तरिक उपनिवेशको कलपूर्जा जस्तो मात्र भएको बताए । उनले नेपाल जस्तो देशमा सङ्घवाद र समाजवाद दुई ‘वाद’ वा सिद्धान्तले मात्र उत्पीडित राष्ट्रियताहरू र श्रमजीवी वर्गलाई शोषणबाट मुक्त गर्ने बताउँदै एमालेका वहुदलीय जनवाद र काङ्ग्रेसको लोकतान्त्रिक समाजवाद दुबैले ए्कात्मक राज्य प्रणालीको पक्षपोषण गरेको हुँदा त्यसले जातीय उत्पीडनको अन्त्य गर्न र समतामुलक समृद्धि ल्याउन नसक्ने बताए ।

ताम्सालिङ प्रदेशका सदस्य तथा निवर्तमान जिल्ला सचिव दिल वहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि तथा ताम्सालिङ प्रदेश इन्चार्ज गणेश योञ्जनले पार्टीको विचार मात्र ठीक भएर हुँदैन त्यसलाई गाउँ गाउँमा लाने सङ्गठन पनि हुनु पर्छ भने । उनले ताम्सालिङमा सङ्गठन विस्तारको राम्रो सम्भावना रहेको पनि बताए । उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा ताम्सालिङ प्रदेश अध्यक्ष सुनी लामा, बौद्धिक पेसाकर्मी महासङ्घका इन्चार्ज नहेन्द्र प्रधान, केन्द्रीय सदस्य कृष्णकुमार घलान, शेर्पा प्रदेशका अध्यक्ष लाक्पा शेर्पा, युवा फोरमका अध्यक्ष सुनिल चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए । पुनर्गठन कार्यक्रममा स्वागत भाषण केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज लक्ष्मण गुभाजु र कार्यक्रम सञ्चालन नवघोषित जिल्ला समिति सचिव हर्ष तामाङले गरेका थिए । २५ सदस्यीय उक्त जिल्ला तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूमा अध्यक्ष– सञ्चवीर तामाङ,.उपाध्यक्ष द्वय– जगत वहाादुर लामा र राम वहादुर पाख्रिन, सचिव – हर्ष तामाङ, सहसचिव– बुद्ध तामाङ, कोषाध्यक्ष– ठूले दोङ, सदस्य रजनी लामा आदि रहेका छन् ।

Comments

comments

: News

Leave a Reply